भरतपुर । भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माण गर्न लागेको हो। प्राधिकरणका अनुसार ६ वटा कम्पनीको बोलपत्र पेस भएको छ।
अत्याधुनिक किसिमको ७ हजार सात सय ४९ वर्गमिटर क्षेत्रफलमा भवन निर्माण गरिने छ। विमानस्थलको धावन मार्ग विस्तार हुँदासमेत काम गर्ने गरी टर्मिनल भवन बनाउन लागिएको हो। नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गरी विमानस्थलको धावन मार्ग विस्तार गर्ने योजना रहेको छ।
हाल धावनमार्गको उडान र अवतरण हुने क्षेत्रमा अग्ला घर भएका कारण जहाजले क्षमता भन्दा कम यात्रु मात्रै बोक्ने गरेका छन्। धावनमार्ग विस्तारसँगै ठूला जहाज उडान गर्न सकिने र रात्रिकालीन उडानसमेत हुनेछन्।
यहाँबाट काठमाडौँ, पोखरा र भैरहवा उडान हुँदै आएको छ। हाल बुद्ध र गुण एयरले दैनिक १० हाराहारी उडान गर्दै आएका छन्।