भरतपुर, पुस ३-
चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । करिब रु ९० लाखको लागतमा निर्माण गरिएको दुईवटा स्टेशनमा एकपटकमा छ वटासम्म गाडी चार्ज गर्न मिल्छ ।
बसपार्कमा दुईवटा फरक टेक्नोलोजी सिसीएच र जिबिटीका चार्जर स्टेशन निर्माण गरिएको हो ।
चार्जिङ स्टेशनमा एक सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरू राखिएको छ । यसबाट ठूला बससहित तीनवटा सवारीसाधनले एकसाथ चार्ज गर्न सक्नेछन् ।
सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् । बिहान ५ देखि साँझ ५ बजेसम्म आठ रुपैयाँ २८ पैसा प्रतियुनिट, बेलुका ५ देखि राति ११ बजेसम्म १० रुपैयाँ ४४ पैसा प्रतियुनिट र राति ११ देखि बिहान ५ बजेसम्म नौ रुपैयाँ छ पैसा चार्ज शुल्क तोकिएको छ ।