काठमाडौँ – नेपाल क्रिकेट संघले अप्रिल १ तारिखदेखि लागू हुने गरी राष्ट्रिय क्रिकेट टिमका पुरुष तथा महिला खेलाडीहरुको मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । खेलाडी सँगै मैदान कर्मचारीहरू, मैदान कार्यालय सहयोगी र टियु मैदान पिच क्युरेटरहरुको पनि मासिक पारिश्रमिक वृद्धि हुने भएको छ। मंगलबार बसेको क्यानको बोर्ड बैठकले उनीहरुको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो ।
क्यानको निर्णय अनुसार ‘ए’ ग्रेडका खेलाडीले ६० हजार, ‘बी’ ग्रेडका खेलाडीले ५० हजार र ‘सी’ ग्रेडका खेलाडीले ४० हजार रुपैयाँ पाउनेछन् । यसअघि ‘ए’ ग्रेडका खेलाडीले ५० हजार, ‘बी’ ग्रेडका खेलाडीले ४० हजार र ‘सी’ ग्रेडका खेलाडीले ३० हजार पाउँदै आएका थिए ।
महिला राष्ट्रिय क्रिकेट टिमको ए’ ग्रेड र ‘बी’ ग्रेड मा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गरेको छ । साथै ग्रेड ‘सी’ मा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ५ हजार ले वृद्धि भएको छ। त्यसैगरी, मंगलबार बसेको क्यानको बोर्ड बैठकले सम्पूर्ण मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक ५ हजारले तथा टियु मैदान पिच क्यूरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गर्ने निर्णय गरेको छ ।